साउन २६ ।
कोरोना भाइरसको महामारी पछिल्लो समयमा विश्वभर तिव्र रुपमा फैलदै छ । यस विरुद्धको लडाइँमा भारतले परीक्षणको गतिलाई नाटकीय रुपमा तीव्र पारेको छ । कोरोना संक्रमण थाहा पाउन पछिल्लो २४ घण्टाभित्र ७ लाख नमुना परीक्षण गरिएको भारतीय पत्रिका दैनिक जागरणले उल्लेख गरेको छ । यस क्रममा ६३ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यही अवधिभित्र ५५ हजारभन्दा बढी मानिस निको भएका छन्, जुन भारतका लागि नयाँ रेकर्ड पनि हो । भारतमा कूल संक्रमितको संख्या २२ लाख नाघेको छ । अहिलेसम्म ४३ हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । कूल १४ लाखभन्दा बढी बिरामी निको भएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा केही दिनयता दैनिक ६ लाखभन्दा बढी नमुनाको परीक्षण भइरहेको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का विज्ञान तथा मिडिया समन्वयक डा. लोकेश शर्माका अनुसार शनिवार ७ लाख १९ हजार ३ सय ६४ नमुना परीक्षण गरिएको छ । उनका अनुसार एकै दिन यति ठूलो संख्यामा परीक्षण गरिएको यो नै पहिलो पटक हो ।
कोरोना पत्ता लगाउन प्रति मिनेट ५ सय परीक्षण भइरहेको उनले बताए । भारतमा अहिलेसम्म २ करोड ४१ लाख ६ हजार ५ सय ३५ नमुना परीक्षण गरिएको छ ।