Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मान्छे खाने बाघको सामुन्ने पुग्दा

जनता भ्वाइस by जनता भ्वाइस
September 30, 2020
in समाचार
0
मान्छे खाने बाघको सामुन्ने पुग्दा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रमेशकुमार पौडेल


चितवन — बूढो किन नहोस्, कमजोरै किन नहोस् । खुट्टामा घाउ भए पनि, दाँतै खुस्किए पनि आखिर बाघ भनेको बाघ नै हो । हार मान्न कदापि तयार हुँदो रहेनछ ।


शनिबार बिहान खाना खाइवरि सौराहातिर निस्कन झोला भिर्नै लागेको थिएँ, चितवन निकुञ्जबाट फोन आयो । सूचना अधिकारी अशोक रामले ‘पटिहानी बेलसहर मध्यवर्ती सामुदायिक वनमा बाघले मान्छे मारेको’ खबर दिए । यो खबर लेखेर म निस्किएँ । तर, चौबिसकोठी कटेलगत्तै पटिहानीबाट साथी अपिल घिमिरेको फोन आयो ।


अपिलले बाघलाई नियन्त्रणमा लिन टोली आउँदै गरेको सुनाएपछि म हाकिमचोकबाट दाहिने मोडिएर लागें पहिटानी छितामाईतिर । छितामाई बेलसहर वनको प्रवेशद्वारनजिक कार, मोटरसाइकल, साइकल टन्नै थिए । म बाइकमै वन छिरें । राप्ती किनारको वनपथ समाएर अगाडि बढें । मान्छेहरू कोही जाँदै, कोही फर्कंदै थिए । अलि परै पुगेपछि प्रहरीले घटनास्थलको सुरक्षा गरेको रहेछ ।

बाइक त्यहीँ रोकेँ । हेलमेट भिरेरै अगाडि बढेँ । साथी अपिल त्यहीँ थिए । मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना, पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शंकर महतो, भरतपुर महानगरपालिका–१३ का वडासदस्य किशोर पौडेल त्यहीँ भेटिए । दुई–चारवटा हात्ती थिए, नारायणी सफारी होटलका । तर बाघ खोज्न अलि सशक्त हात्तीको प्रतीक्षा भइरहेको थियो ।

निकुञ्जको स्थानीय पोस्टका कर्मचारी पनि त्यहीँ थिए । कसराबाट सहायक संरक्षण अधिकृत ऋषि रानाभाट, लोकेन्द्र अधिकारी र सौराहाबाट राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को कार्यालयका प्रमुख बाबुराम लामिछानेसहित पशुचिकित्सक र प्राविधिकहरूको टोली पनि आइपुग्यो । त्यो टोलीमा थिए तीर्थ लामा । उनी वन्यजन्तु उद्धार टोलीको ‘हिरो’ हुन् । म उनलाई यही रूपमा मान्ने गर्छु ।
वन्यजन्तुलाई नियन्त्रणमा लिन लठ्याउनुपर्छ । लठ्याउन औषधिको सिरिन्ज त्यस्ता जन्तुको शरीरमा घोप्नुपर्छ । गाई–भैंसीलाई सिरिन्ज हानेजस्तो हुँदैन बाघ, गैंडा, भालु, चितुवालाई सिरिन्ज हान्नु । विशेषखाले बन्दुकले डार्ट हान्नुपर्छ । तीर्थले मेसो मिलाएर हानेको डार्ट कमै मिस जान्छ ।

प्राविधिकहरू डार्टको तयारीमा लागे । बाघ भएको क्षेत्र आकलन गरेर ‘भिट’ लगाउन सुरु गरे । बाघले सेतो घेरा नाघ्दैन भन्ने विश्वास छ । त्यसैले सेतो कपडाको घेरा हालेर बाघलाई छेक्ने गरिन्छ । ‘भिट’ भनेको यही हो । हात्तीको सहयोगले एउटा ठूलो क्षेत्रलाई प्राविधिकहरूले भिट लगाए । सौराहा खोरसोरबाट हात्ती आए । तर बच्चासहित । बच्चा भएको हात्ती लिएर बाघ खोज्न के हिँड्नु ?

अब कसराको हात्ती नआई काम सुरु नहुने भयो । बाघले पहिटानी छितामाईका जगदीश पनि भनिने जन्हु महतोलाई आक्रमण गरेको थियो । मध्यवर्तीका अध्यक्ष शंकर महतोको घर पनि त्यहीँ हो । उनी जगदीशसँग बिहान मात्र भेट भएको सुनाउँदै थिए । जगदीशका छोरा कमलले बुबा बाख्रालाई घाँस काट्न जंगल गएका बेला घटना भएको बताए । १० बजेतिर खबर आएपछि उनी र भाइ ट्र्याक्टर लिएर बाबुलाई खोज्न दौडिए । जंगलमा बाबुलाई क्षतविक्षत अवस्थामा देखे । उनीहरू ट्र्याक्टरबाट उत्रिए तर बाघ आडैमा रहेछ । बाघ जंगिएपछि उनीहरूलाई बुबासम्म पुग्ने आँट आएन । त्यसो गरेको भए अर्को दुर्घटना हुन्थ्यो ।
कसराबाट हात्ती आइपुग्यो । पर्खंदा–पर्खंदै थकित देखिएका प्राविधिकहरूको अनुहार चम्कियो । बाघ खोज्न कसराबाट आएका जब्बर पाँचवटा हात्ती अगाडि लाग्ने भए । त्यसमा बस्ने प्राविधिक, सुरक्षाकर्मीको टुङ्गो लाग्यो । एउटा हात्तीमा दुई जना अनि अगाडि माहुते बसे ।

ऐश्वर्याकलीमा बस्ने प्रहरीका सइ मात्र भएछन् । लोकेन्द्रजीले ‘ल तपाईं नि जानुस्’ भनेर मलाई इसारा गरे । चितवनमा बसेको भनेर के गर्नु, मैले अहिलेसम्म प्राकृतिक वासस्थलमै पुगेर बाघ देखेको छैन । जावलाखेलको चिडियाखाना र उद्धार गरेर कसरामा राखिएका बाघ देखियो । २०६७ सालको असोजमा एउटा बाघ देखेको थिएँ, सौराहामा । होटलभित्रको झ्याङमा आएर बसेको बाघलाई उद्धार गर्दाको दृश्य हामीले होटलको तीन तलामाथिबाट नियालेका थियौं ।

अहिले पनि म ‘डार्ट’ गरेपछि बाघको फोटो–भिडियो खिच्ने मानसिकता बनाएर बसेको थिएँ । तर, लोकेन्द्रजीले हात्ती चढ्न इसारा गरेपछि डार्ट गर्नुअघिकै फोटो–भिडियो खिच्न पाइने भयो भनेर दंग परेँ ।

भिट नाघेर हात्ती अगाडि लम्के । सय मिटर पनि पर जानुपरेको थिएन, हात्तीले मेसो पाइहाले । अगाडि बढ्न अनकनाउन थालेका हात्तीलाई माहुतेले जोड लगाउन थाले । त्यसपछि सबै हात्ती कराउन थाले । ती सबैको आवाजलाई ‘माइनस’ गरेर एउटा फरक आवाज आयो । त्यो थियो– बाघको गर्जन । हाम्रो हात्तीभन्दा त्यस्तै १५/२० मिटर पर झाडीमै रहेछ ।

पहिले गर्जन अनि बाघ नै अगाडि आयो । हात्ती अलि अगाडि बढेको मेसो पाए बाघ गर्जनसहित निस्कन्थ्यो । अनि फुत्त झाडीमै लुकिहाल्थ्यो । मैले त्यति नजिकबाट न बाघको गर्जन सुनेको थिएँ न उसको आक्रामक रूपको दर्शन पाएको थिएँ ।

बाघ अगाडि सर्थ्यो, उभिएजस्तो देखिन्थ्यो । उफ्रन लागेझैं पनि लाग्थ्यो । उफ्रे सिधै हात्तीकै आडमा आउन सक्थ्यो । बाघ देखियो तर फोटो–भिडियो खिच्न पाइने छाँट देखिएन । एक त अगाडि सइ साप थिए । त्यसमाथि हात्तीको हलचल ।

मेरो दाहिनेतर्फ हात्तीमा एनटीएनसीका प्राविधिक बसेका थिए । उनले बाघदेखि तर्सेर हात्ती भागेका बेला मान्छे खस्ने खतरा हुने भन्दै सजग गराए । त्यस्तो बेला राम्रोसँग नसमाए भुइँमा पछारिन के बेर ? झन् डर लाग्यो । भिडियो खिच्न तयार गरेको मोबाइल टाउजरको खल्तीमा घुसारें । देब्रे हातले हात्तीको हौदा कसेको डोरी बेस्सरी समाएँ ।

मेरो देब्रेतिर सेनाका मेजर साप थिए । उनले ‘सर, मिलाएर फोटो त खिच्नुस्, केही परे जोगाउने म छँदै छु’ भन्दै भरोसा दिए । मैले मोबाइल झिकेर भिडियो लिने आँट गरिनँ । बरु क्यामेरा झिकेर स्पोर्ट्स मोडमा राखेँ, बाघ आए खचाखच खिच्न ।

क्यामेरा लिँदा मोबाइल फोन समाउनजत्तिको ध्यान केन्द्रित गर्न नपर्ने । घाँटीमा भिरेको हुँदा खस्ने डर पनि नहुने । अर्को हातले मज्जाले डोरी समाउँदा हुने । मैले प्राविधिक र सैनिक दुवैको कुरामा तालमेल मिलाउन खोजेँ । तर, हात्ती अगाडि बढ्नै खोजिरहेका छैनन् । माहुतेको बलले मात्र नहुने रहेछ । बाघ र हात्ती दुवैले आफ्नो सीमा नाघ्न नखोज्ने । बाघ दुई पाइला यता आए हात्तीको सुँडमै नङ्ग्रा गाड्न बेर लाउँदैनथ्यो । तर बाघ पनि यता नआउने, आफ्नै सीमाभित्र बसेर प्रतिवाद गर्ने । हात्ती र बाघबीचको यो साँधसीमाको खेल निकै बेर चलिरह्यो ।

बाघलाई झाडीबाट निकाल्न मौजुदा हात्तीले सक्दैनन् भन्ने लागेपछि प्राविधिकले अझै कडा स्वभावका हात्ती ल्याएर भोलि आउने कि भन्ने छलफल गरे । तर कमललाई उनका बाबुको शव पनि जिम्मा लगाउनु थियो । त्यसैले आजै काम फत्ते गर्नुपर्थ्यो ।

बाघ लुकेको झाडीभन्दा केही पर तीर्थ रूखमा बसेका थिए, डार्ट गन बोकेर । एनटीएनसीका प्राविधिकहरू बसेको हात्ती लक्ष्मीकली त्यहीँ पुगेर तीर्थलाई लिएर आयो । तीर्थले हात्तीलाई अगाडि बढाए । माहुतेले बाघ देखेको इसारा गरे । तीर्थले हात्तीलाई कुर्कुच्चाले मुसारे, हातले थपथपाए । हात्ती अलि स्थिर भयो । तीर्थले गनले अलिक बेर ताकेर फ्याट्ट ‘डार्ट’ छाडे । उनको निसाना चुकेन ।

बाघ लट्ठिएको थाहा भएपछि प्राविधिकहरू कुदेर झाडीमा पसे । बाघ बूढो भएको भाले रहेछ । पछाडि खुट्टामा चोट थियो । अगाडि एउटा कुकुर दाँत पनि भाँच्चिएको । जगदीशको शव बाघकै आडमा क्षतविक्षत थियो । चित्तल, जरायोजस्ता फुर्तिला जन्तुको सिकार गर्ने बाघले बूढो भएपछि नै हो मान्छेलाई समात्ने ।

घटनाको झन्डै सात घण्टापछि साँझ ५ बज्दै गर्दा बाघ नियन्त्रणमा आयो । कमलले आफ्नो पिताको अस्तुजत्तिको अवशेष पाए । वन्यजन्तु प्रकृतिका गहना हुन् । तर यहाँ त दुर्दशा पो थियो । वन्यजन्तुले स्वभाव बदल्दा जगदीशको जीवन नै सकियो । बाघले आफ्नो सीमा यहाँ त मिचेको थियो ।

बाघको अप्रत्याशित दर्शन र नौलो अनुभूति बोकेर म घर फर्कें । खाना खाएपछि सुत्ने बेलामा देब्रे कुम र पाखुरो निकै दुख्न थाल्यो । दिउँसो हात्तीबाट नखस्न देब्रे हातले डोरी समाएको बलले यस्तो दुःख पाइयो । तर, यो दुःख के दुःख ! जगदीश र उनका सन्तानको दुःख झन् कति हो कति ! निकुञ्जको मध्यवर्ती क्षेत्र नै यस्तै दुःखले भरिएको छ । चितवन निकुञ्ज नेपालमा बाघको मुख्य वासस्थल हो ।

प्रकृति, वन, वन्यजन्तुको संरक्षण एकतर्फ छ, स्थानीयको आवश्यकता र चासोको सम्बोधन र व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण छ । यो देखिने समस्या भयो । तर मध्यवर्तीमा बस्ने जगदीशको जीवन जोगाउन नसके पनि मृत्युपछि शव उनको परिवारलाई बुझाउने र अरूको त्यस्तो अवस्था नहोस् भनेर बाघ नियन्त्रणमा लिने कार्य पनि कम्ती दुःखको रहेनछ । इ-कान्तिपुरबाट…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जमरा टिका थालैमा सार्वजनिक

Next Post

रासमले मन्थलीमा संचालन गरेको फुडबैंकको दैनिक काउण्टर सेवा बन्द हुँदै

Next Post
रासमले मन्थलीमा संचालन गरेको फुडबैंकको दैनिक काउण्टर सेवा बन्द हुँदै

रासमले मन्थलीमा संचालन गरेको फुडबैंकको दैनिक काउण्टर सेवा बन्द हुँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.