रामेछाप ०४
रामेछाप जिल्ला लिखु तामाकोशी गाँउपालिका –१ दुरागाँउका १२ घर बिक परिवारले परापुर्व कालदेखी गर्दै आएको आरन लोपन्मुख बनेको छ । साविकको गाविस वडा नं–४ मैदाने टोलमा रहेका १२ घर बिक परिवार मध्ये दुई घर परिवारले मात्रै पछिल्लो समय काम गर्दै आए पनि गाँउपालिका, वडाले संरक्षणमा ध्यान नदिदा उनीहरुको पहिचानै गुम्न लागेको सोहि वडाका स्थानिय कमल बि.क (दियाली) ले गुनासो गरे ।
उनले आफ्नो पहिचान जोगाउन वडा अध्यक्षलाई वडामा पुगि जानकारी गराउदा पनि अध्यक्षले जिल्लाको घरेलु उद्योगमा आफै गएर दर्ता गराई दिने लगायत आश्वासन दिएको तर अहिले फोन नउठ्ने, वडामा पनि नभेटिने गरेको गुनासो गरे । दुरागाँउको वडा नं १ देखी ९ सम्मका दुई सय घरधुरीको सामान बनाउदै आएका उनले विविध कारणले समान बनाउन समस्या भएको र स्थानियको गुनासो बढ्न थालेपछि आफु वडाको सहायतामा पुग्दा असहयोग भएको गुनासो गरे ।
स्थानीय सामान बनाउन छिमेकी गोकुल गंगा गाँउपालिकाका विभिन्न वडामा पैदल दिनभर हिडेर पुग्नुपर्ने समस्या बढेकाले आफ्नै वडामा समान बनाउन स्थानियहरुको माग बढेको छ । तर उचित आधुनिक मेसिन, उपकारण नहुदा समान बनाउन नसकेको बि.कको भनाई छ ।
उनले काम गर्दा लाग्ने चोटपटकको उपचार गर्ने ब्यवस्था र एउटा वइलिङ मेसिन लगायतका सामाग्रीको ब्यवस्था गरिदिन माग गरेका छन् ।
यसैवीच लिखु तामाकोशी गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष निङमार तामाङले आधुनिक आरनको लागि पहल गर्ने आश्वासन दिए । उनले आफुले आरनको विषयमा गाउँपालिकामा समेत कुरा राखेको वताए ।