रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीहरूको वनभोज कार्यक्रममा खाना खाने क्रममा खाना सर्केर नगर प्रमुखका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको मृत्यु भएको छ ।
रामेछाप नगरपालिकाका कर्मचारीहरूले सोही पालिकाको वडा नं ७ सुकाजोर मा रहेको तारा खस्यो पोखरीमा शनिवार वनभोज कार्यक्रमको आयोजना गरेका थिए ।
सोही कार्यक्रममा सहभागी भएर खाना खाने क्रममा खाना सर्केपछि श्रेष्ठलाई लामो समय सम्म खोकी लागेको थियो ।
खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि सँगै गएका साथीहरूले उनलाई जिल्ला अस्पताल रामेछाप पुर्याएका थिए ।
अस्पताल ल्याएको केही बेरमै डाक्टरले उनलाई मृत घोषणा गरेको थियो । जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले उनको खाना सर्केर श्वास नलीमा पुग्दा स्वासप्रस्वसमा समस्या बढ्दै गएका कारण ज्यान गएको बताए । सो घटना पछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ ।