Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

९६ वर्षीया दृष्टिबिहीनको घरबास खाए मास्टरले

Kumar Shrestha by Kumar Shrestha
June 5, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
९६ वर्षीया दृष्टिबिहीनको घरबास खाए मास्टरले
693
SHARES
7k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । ऋणले उठिबास लगाएको समाचार नौलो होइन । कतिले जीवन नै त्याग गरेको पनि सुनिएको छ, देखिएको छ । तर, रामेछापको मन्थली नगरपालिका वडा नं. १३ को घटना भने फरक छ । विश्वासको भड्खालोमा परेर फुलासीका ९६ वर्षीया खड्गीमाया कार्की र उनका वृद्ध पति फत्तबहादुर कार्कीको भने उठिवास लाग्यो । उठिवास लगाउने अरु कोही नभएर स्थानीय विद्यालयका शिक्षक हुन्, छत्रबहादुर खड्का । फत्तबहादुरले जसको भरिया, गोठालो बनेर सेवामा वर्षौ बिताए, जसलाई पूराकापूरा विश्वास गरे उनै मास्टरले आज सयवर्ष पुग्न लागेका वृद्ध दम्पत्तिको एक शताब्दी बसोबास गरेको घरबारी झ्वाम पारे र निःसन्तान वृद्धवृद्धालाई घर न घाटको बनाइदिए ।
घटना यस्तो थियो । फत्तबहादुर कार्की दुबै आँखा नदेख्ने श्रीमतीको पालनपोषणका लागि फुलासी चिण्डेका स्थानीय व्यापारी एवम् हर्रेचिण्डे माविका शिक्षक छत्रबहादुर खड्काको पसलमा भरिया र खेतबारी, गोठमा हली–गोठालोको काम गर्थे । १५ वर्षदेखि भरिया, हली, गोठालोको काम गरिरहेका फत्तबहादुरले तरकारी–फलफूल खेतीका लागि कृषि विकास बैङ्कबाट ५ हजार रुपियाँ ऋण लिएका रहेछन् । त्यस्तै दृष्टिबिहीन श्रीमतीको उपचार र घरव्यवहारका लागि गाउँकै ललितबहादुर पौडेलसँग ३ हजार रुपियाँ ढ्याके ब्याजमा ऋण लिएका रहेछन् ।
मास्टर छत्रबहादुरले खाजामा दिएको चिउरा र चिनीकोसमेत हिसाब जोडेर भारी बोकेको ज्याला कटाउन लागेपछि फत्तबहादुरले पाँचपैसा पनि ऋण घटाउन सकेनन् । बैङ्कको ऋण, गाउँलेसँगको सापटी, दृष्टिबिहीन श्रीमतीको निरन्तरको उपचार त्यसमाथि गाउँले धनीले ३ हजारको १८ हजार सावाँब्याज जोडेर ताकेता गर्न थाले भने ‘क’ अक्षर नपढेका फत्तबहादुरलाई कृषि बैङ्कले चिठीमाथि चिठी पठाउन थाल्यो । यस्तो अवस्थामा फत्तबहादुरको जीवन र धर्म जोगाइमाग्ने एउटै मानिस थिए– छत्रबहादुर खड्का । छत्रबहादुर फत्तबहादुरका साहुजी मात्र थिएनन्, मालिक थिए, साउँअक्षर चिनेका ज्ञानी थिए, उल्झन फुकाइदिने गुरु थिए अनि अप्ठेरोमा साहारा माग्ने एउटै गौँडो थिए । जवानी र जीवन नै छत्रबहादुरको घरमा हली, गोठालो, पसलको भरिया बनेका फत्तबहादुर छत्रबहादुरका अगाडि शरणागत भए । भने, गाउँका धनीले पेले, बैङ्कले ताकेता ग¥यो । मास्टर र साहुको समानान्तर भूमिकामा रहेका, कान्छी श्रीमतीसमेत शिक्षिका नै रहेकाले २०–५० हजार खेलुवा पैसा नटुट्ने छत्रबहादुरले आफ्नो हली, गोठालो र भरियालाई त्यसै नगद नदिने त तय थियो तर फत्तबहादुरको निर्दाेश आँखाले देखेजस्तो छत्रबहादुर थिएनन् । फत्तबहादुरलाई पहाडले थिचेको सङ्कटलाई छत्रबहादुरले गुलियो मौकाको रुपमा लिए । फत्तबहादुरको कूल हिसाब गर्दा ३६ हजारलाई ४ सय कम तिर्नुपर्ने ऋण देखियो । छत्रबहादुरले प्रस्ताव राखे– सापटी त दिन्छु तर बन्धकी के राख्छस् ? फत्तबहादुरले भने– १० रोपनी र १४ रोपनी दुबै कित्ता कृषि बैङ्कमा धितो छ । १० रोपनी बन्धकी राख्छु, तपाइँको सावाँब्याज चुक्ता गरेपछि फिर्ता लिन्छु । छत्रबहादुर ३५ हजार ६ सय ऋण तिरिदिन मञ्जुर भए । कृषि विकास बैङ्क मन्थलीमा १८ हजार वरपर र गाउँमा १८ हजार वरपर ऋण तिरेपछि फत्तबहादुरलाई आँखामा बिझेको झूस निकालेको जस्तो भयो । कृषि विकास बैङ्कबाट लालपुर्जा निस्कियो, मालपोतमा भएको जग्गा रोक्का फुकुवा भयो । फत्तबहादुरलाई लिएर छत्रबहादुर जग्गा पास गर्न मालपोत गए । मालका हाकिमले सोधे– जग्गा बेचेको हो ? पैसा पाउनुभो ? सिकाए अनुसार फत्तबहादुरले टाउको हल्लाए ।
शिक्षक छत्रबहादुरले फत्तबहादुरको निर्धोपनको फाइदा उठाउँदै मोही र मकैको भरमा दिनभरि जोत्न लगाएको । ५ घण्टाको नाक ठोक्किने उकालो बाटोमा १ सय २० केजीको पसलको भारी बोक्दा प्रतिकेजी ५० पैसा तोकेर आउने ६० रुपियाँ पनि खाजामा दिएको चिउरा र चिनीमा कटाएको । महिनाभरि दिनको १८ घण्टा काम गरेर कमाएको भन्दा सलाई, नुन, चामल, चिउरा लगेको भन्दै खातामा चढाएको हिसाब ऋणात्मक भएको कुरा भुसुक्कै बिर्सेर फत्तबहादुरले कुनै शङ्का गरेनन् । छत्रबहादुरले मुखले एउटा भने, मालमा आफू अनुकूल थिचाए । २०६२ सालको यो कुरा फत्तबहादुरले एकैपटक २०८० सालमा थाहा पाए– छत्रबहादुरले एउटा बन्धकी भनेर दुबै कित्ता जग्गा आफ्नो नाउँमा गरेछन् ।
घटना कसरी खुल्यो ?
आफ्नौ पैतृक २ कित्ता जग्गामा दुःखजिलो जीवन चलिरहेकै बेला एकदिन ९६ वर्षीया दृष्टिबिहीन खड्गीमायाले घर बाहिर हो–हल्ला सुनिन् । त्यो हो–हल्ला अरु केही नभएर जग्गा किन्ने ग्राहकको रहेछ । खड्गीमायाले पत्तो पाइन् ती ग्राहक आफूले झण्डै १ शताब्दी जीवन बिताएको घर–घु¥यान किन्न आएका रहेछन । खड्गीमाया छक्क परिन्, श्रीमानसँग रिसाइन्– बसिरहेको घरजग्गा बेचेर कहाँ बस्ने ? गुफामा ?
फत्तबहादुर पनि आश्चर्यमा परे । आफूले जग्गा बेच्ने सोचसम्म नबनाएका उनी जग्गा किन्ने मान्छे आउँदा अलमलमा परे । खास कुरोको चुरो अर्कै रहेछ । २०६२ सालमा मास्टर साहेबको विश्वासमा १० रोपनीको एउटा कित्तामात्र जग्गा बन्धकी बापत पास गरेको भन्ठानेका फत्तबहादुरले दुबै कित्ता जग्गा थिचिदिएको झण्डै २० वर्षपछि मात्र थाहा पाए ।
२४ रोपनी ११ आना जमिनका मालिक फत्तबहादुर त २० वर्ष अघि नै सुकुम्बासी बनेका रहेछन् । वा टाठोबाठो मास्टर छत्रबहादुरले २० वर्ष अगावै सुकुम्बासी बनाई सकेका रहेछन् । निर्धो फत्तबहादुर भने अझै सपना देखिरहेका थिए– अझै भारी बोक्छु र छत्र मास्टरलाई दिएको जग्गा निखन्छु ।
गुफाको बास हुने भएपछि फत्तबहादुरले भने– १४ रोपनी कित्तामा मेरो घर–मतान छ । आँखा नदेख्ने श्रीमती त्यही घरमा बसिरहेकी छे । घर खाली गर् भन्दै माष्टरले धम्क्याउँछ । श्रीमतीलाई पनि झम्टिन्छ । आँखाभरि आँशु पार्दै कार्कीले भने– मैले भगवान् सोचेको बेइमानी माष्टरले ममाथि अन्याय गरे । राक्षस बने, विश्वासघात गरेर मलाई सुकुम्बासी बनाए । म न्याय खोज्न कहाँ जाउँ, सयवर्ष पुग्न लागेकी जहानलाई कहाँ लगेर राखूँ ?
न्यायको बाटोमा झन् पीडा !
अब के उपाय छ त ! ९६ वर्षीया खड्गीमायाले आफन्तमार्फत् रामेछापका कानून व्यवसायीसँग सम्पर्क गरिन् । अधिवक्ता सौजन्यप्रसाद सत्याल मानवीय नाताले मुद्धा लेखिदिन तयार भए । हरिशरणले तारेखको जिम्मा लिए । मुद्धा चल्दै गयो । तर, वकिल र वारेसमात्र सहयोगी बनेर मुद्धामा न्याय पाउने कुरा सहज हुन सकेन । मुद्धा दस्तुर, कोर्टफी तिर्नैपर्ने । मेलमिलाप आदि आदेशका बखत अदालतमा आउनैपर्ने । ज्यानमा कुनै ताकत र प्राण छैन, गाडी चढेर आउनसक्ने ज्यानमा शक्ति छैन । ९६ वर्षको उमेर त्यसमाथि दृष्टिबिहीन हिँडेर त्यति टाढाबाट आउन र फर्किन सम्भव छैन । उमेरका छत्रबहादुरले गाउँमा हल्ला फिँजाए– जिल्ला अदालतमा मुद्धा हारेँ भने उच्च अदालत जान्छु, सर्वाेच्च अदालत जान्छु । फत्तबहादुर सँगसँगै म पनि उच्च र सर्वाेच्च अदालत जान्छु भन्ने ९६ वर्षीया वृद्धाको कुनै हुति छैन । मुद्धा गर्ने आफैँ माटोमा मिले मुद्धा अघि बढ्ने होइन ।
अर्काेतर्फ फत्तबहादुरलाई झुक्याएर पास गरेका दुबै कित्ता जग्गा छत्रबहादुरले धितो राखेर झण्डै २८ लाख रुपियाँ ऋण लिएका रहेछन् । उल्फाको धन, फुपूको श्राद्ध भनेझैँ गए त्यही जग्गा जान्छ भनेर ऋण लिएदेखि छत्रबहादुरले सावाँब्याज घटाएका रहेछन् । यस्तो अवस्थामा मुद्धा जिते पनि बैङ्कले घाँटी अँठ्याएको जग्गा २८–३० लाख चुक्ता गरेर आफ्नो बनाउनसक्ने ताक वृद्ध कार्की दम्पत्तिमा छैन । मुद्धा जितेपनि जग्गा नआउने, हारे त गैगयो ।
कौडीको भाउमा मिलापत्र !
यसरी मुद्धा जित्दा पनि हार्ने, हार्दा पनि सर्वस्व हुने स्पष्ट अवस्था देखिएपछि राक्षसी अट्टहासमा रहेका छत्रबहादुरसँग मिलापत्र गर्नुको विकल्प शताब्दीको तहमा पुगेका वृद्ध दम्पत्तिसँग रहेन । तर हाल रोपनीकै २ लाख जाने २४ रोपनी जग्गा अर्थात् झण्डै ४९ लाख रुपियाँको जग्गा छत्रबहादुरलाई नै छाड्दा छत्रबहादुरले दिने भए जम्मा ७५ हजार रुपियाँ । त्यो पनि ४–५ महिनापछि साटिने गरी चेक । त्यही ४ महिनापछि साटिनेगरी ७५ हजार रुपियाँको चेक हातमा लिएर वृद्ध दम्पत्ति मुद्धा मिलापत्र गर्न वाध्य भए । तर छत्रबहादुरले शर्त राखे– तुरुन्त यो घरबारी खालि गर्नुपर्छ । तिमीहरुले बनाएको घर र तिमीहरुले लगाएको रुख एउटा पनि दिन्नँ ।
फत्तबहादुर बर्बराउँछन्– न सन्तान छन्, न सम्पत्ति रह्यो । एउटा मान्छेले अपराध चिताइदिँदा घर न घाटको भइयो ।
९६ वर्षीया खड्गीमायाले रुँदै भनिन्– मेरा निरक्षरी लोग्नेलाई हलीगोठालो र भरिया बनाएर पसिना त खायो खायो, अहिले हाम्रो घरबास सबै खायो । यस्तो गर्नेलाई भगवान्ले नै सजायँ दिन्छन् नानी !
शिक्षक छत्रबहादुरसँग यसबारे बुझ्न खोज्दा यसबारे बोल्न चाहेनन् ।
९६ वर्षीया खड्गीमाया कार्की र उनका श्रीमान फत्तबहादुर कार्कीसँगको भिडियो अन्तर्वार्तामा आधारित ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

खाँडादेवी गाउँपालिका बेरुजुमा पहिलो

Next Post

मन्थलीमा बन्ने भयो सांस्कृतिक सङ्ग्रहालय

Next Post
मन्थलीमा बन्ने भयो सांस्कृतिक सङ्ग्रहालय

मन्थलीमा बन्ने भयो सांस्कृतिक सङ्ग्रहालय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.