रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा संचालन भएका विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिताको विषयमा सार्वजनिक सुनुवाइ गरेको हो ।
कार्यक्रममा स्थानीयले विकास निर्माण तथा पूर्वाधारका विषयलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरेका थिए । उनीहरूले आफ्ना समस्या र पालिकाले गरेको काम बारे खुलेर प्रश्न गर्दै सुझाव दिएका थिए ।
गाउँपालिका अध्यक्ष केशव महतले जनतामा प्रशस्त आवश्यकताहरू भएको र गाउँपालिकामा स्रोत र साधनको कमी भएका कारण चाहे जति विकास गर्न नसकेको बताए । गाउँपालिकालाई समुन्नत बनाउन सामूहिक प्रयास आवश्यक रहेको समेत अध्यक्ष महतले बताए । विकास निर्माण गर्न तथा समाज परिवर्तन गर्न गाउँपालिकाका नागरिक सबै मिल्नु पर्नेमा उनले जोड दिए । महतले कृर्षिमा व्यवसायीक शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्ने पनि बताए ।
मंगलबार भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष केशव महत, उपाध्यक्ष दिपा पाख्रिन, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पत्रकार तथा राजनीतिक दलका प्रतिनिधि र स्थानीयहरूको उपस्थिति रहेका थियो । कार्यक्रमको सहजिकरण सान नेपालले गरेको थियो ।