काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण देखिन सक्ने अनुमान गरेको छ। महाशाखाको किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेङ्गु फैलिने समय सुरु भइसकेकाले जुनसुकै समयमा र ठाउँमा सङ्क्रमण तीव्र गतिमा फैलिन सक्ने खतरा रहेको छ।
उनका अनुसार साउनदेखि कात्तिक अन्तिमसम्म डेङ्गुको जोखिम सबैभन्दा उच्च हुन्छ। हालसम्म ७३ जिल्लाबाट करिब १६ सयमा सङ्क्रमण पुष्टि भइसकेको छ। तर बिरामीमा लक्षण नदेखिनु, परीक्षण नगर्नु वा रिपोर्ट नआउनुका कारण आधिकारिक तथ्याङ्क कम देखिएको उनले बताए।
डा. दाहालले हाल समाजमै १० हजारको हाराहारीमा डेङ्गु सङ्क्रमित रहेका तर उपचारको दायरामा नआएका बिरामी रहेको बताए। उनले डेङ्गु फैलावट नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरी योजना कार्यान्वयन भइरहेको जानकारी दिए।
सरकारले यो आर्थिक वर्षमा डेङ्गु नियन्त्रणका लागि करिब १० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। पाँच वर्षीय बहुनिकाय योजना अन्तिम स्वीकृतिको चरणमा रहेको छ। त्यस्तै डेङ्गु रोकथामका लागि हालसम्म ५७ हजार परीक्षण किट प्रदेश र स्थानीय तहमा वितरण भइसकेको र अझै २५ हजार किट मौज्दातमा रहेको महाशाखाले जनाएको छ।
डेङ्गु उपचारको तयारीस्वरूप निजी तथा सरकारी अस्पतालका १७ सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई राष्ट्रिय उपचार पद्धतिबारे अभिमुखीकरण गरिसकिएको छ। लामखुट्टे नष्ट गर्ने अभियान पनि तीव्र बनाइएको महाशाखाले जनाएको छ। डा. दाहालले डेङ्गु नियन्त्रणमा व्यक्ति स्वयं पनि जिम्मेवार रहेको भन्दै आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।