चैत २९,
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यतर ५८ जना प्रहरीले १ लाख ५० हजारभन्दा बढी रकम जम्मा गर्ने भएको छ ।
आउदो २०७७ सालको पहिलो महिना बापतको तलब कट्टा गरी जम्मा गरिएको रकम कोषमा १ लाख ७७ हजार २ सय ४ रुपैयाँ जम्मा हुने छ ।
हाल जिल्लामा रहेको प्रहरी सहायक निरीक्षकको ३८ जना दरबन्दी अनुसार वैशाख महिनाको ३ दिन बराबरको तलबबाट १ लाख १ हजार ४ रुपैयाँ हुने छ भने १४ जना नायव प्रहरी निरीक्षकको तलबको ३ दिन बराबरकै तलब ३९ हजार ४ सय ८० रुपैयाँ जम्मा हुने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता टेकेन्द्र पौडेलले बताउनुुभयो ।
उहाँका अनुसार ५ जना प्रहरी निरीक्षकको दरबन्दी अनुसार ५ दिन बराबरको ३० हजार रुपैयाँ र जिल्लामा एक जनाको मात्रै दरबन्दी रहेको प्रहरी नायव उपरीक्षबाट ५ दिनकै ६ हजार ७ सय ३० रुपैयाँ बराबरको रकम उक्त कोषमा जम्मा हुनेछ ।
प्रहरी प्रधानकार्यालयले प्रहरी सहायक निरीक्षकदेखि माथिल्ला तहका प्रहरी अधिकारीहरू सम्मको केही दिनको तलब कट्टा गरेर कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न निर्देशन दिइसकेको छ ।