वैशाख १७,
काठमाडौं,। संसदको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका र अत्यावश्कीय आयोजनाहरु सञ्चालन गराउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकले आयोजना सञ्चालन हुने स्थानमा सुरक्षित ‘क्वारेन्टाइन’को व्यवस्था गराइ आयोजना सञ्चालन गराउन निर्देशन दिएको हो ।
समितिकी अध्यक्ष कल्याणी खड्काले लामो ‘लकडाउन’का कारण विकास निमार्णका आयोजनाहरु ठप्प भएकाले सुरक्षित व्यवस्था मिलाइ सुचारु गर्न आग्रह गर्नुभयो ।
यस्तै, सभापति खड्काले अतिविपन्न वर्गका मजदुरहरुलाई दिइने राहतको मापदण्ड तोकिनुपर्ने भन्दै कोरोनाको संक्रमणका कारण नेपाल आएका युवालाई रोजगारीको व्यवस्था गराउनसमेत सरकारलाई आग्रह गर्नुभयो । विभिन्न स्थानमा चोरी–डकैतीका घटना बढेको भन्दै उनले उनीहरुलाई रोजगारीमूलक काममा लगाउन नसके भोकमरीसमेत सिर्जना हुनसक्ने बताउनुभयो ।
समितिको बैठकमा सांसदहरुले विकास निर्माण क्षेत्रमा काम गर्ने ज्यालादारी मजदुरको अवस्था निकै पीडादायी रहेका कारण उनीहरुलाई सुरक्षिततवरले काममा लगाउनुपर्ने बताएका थिए ।
ठोस निर्णयविना नै राहत वितरण हुने गरेका कारण स्थानीय, प्रदेश र केन्द्र सरकारको एउटै नीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव समिति सदस्यहरुले दिएका थिए ।