बैशाख १९,
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ ।
मन्त्री पोखरेललाई हिजो राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव प्रतिवेदन बुझाउनुभएको हो ।
प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ ।
उक्त सुझावलाई मन्त्री पोखरेलले उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठकमा जानकारी गराउने बताउनुभएको छ ।
त्यस्तै लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न तथा २५ गतेपछि विद्यालय भर्ना अभियान सुरु गर्न कार्यदलले सरकारलाई सिफारिस गरेको छ ।
शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले वैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम हप्तादेखि एसईई र १२ कक्षाको परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिएको हो ।
एसर्ईर्ई र कक्षा १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिनेसमेत कार्यदलले जनाएको छ ।