मेरा प्यारा विद्यार्थी भाइबहिनीहरु
धेरै धेरै सम्झना ।
भाइबहिनीहरु, चीनको वुहान शहरदेखि गत डिसेम्बरबाट सुरु भएको कोरोना (कोभिड(१९) भाइरसको प्रभावले यतिबेला सिंगो मानव जगत अकल्पनीय अवस्थामा गुज्रिरहेको छ । संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरिरहेको अवस्थामा घरभित्रै बस्नु हामी सबैको बाध्यता बनेको छ । यस महामारीलाई रोकथाम तथा सामना गर्नका लागि व्यापक रुपमा विद्यालय बन्द गरिएका कारण तपाईहरुको सिकाईमा अभूतपूर्व जोखिम सिर्जना भएको छ ।
विद्यार्थी भाइबहिनीहरु, आजको दिनसम्म तपाईंहरुबाट छुट्टिएको पनि लगभग तीन महिना पुग्न अब धेरै दिन बाँकी छैन । अब त तपाईंहरुको माया र साथ बिना दिनहरु पट्यार लाग्दा भएका छन् ।अझैपनि विद्यालय खुल्ने कुनै त्यस्तो निश्चित सुरक्षित उपाय सहित्को सूचना जानकारी छैन । त्यसैले यो महामारीको चुनौतिपूर्ण अवस्थालाई अवसरको रुपमा बदल्न तपाईंहरुले गर्न सक्ने केही जीवनोपयोगी व्यवहारिक ज्ञान र सीपसँग सम्बधित मेरा भोगाईहरु यहाँहरुलाई साट्ने जमर्को गर्दै यो पत्र लेख्न गइरहेको छु ।
वास्तवमा सिक्नुको अर्थ विद्यालयमा गएर किताबका पानाहरु पढ्नु मात्र होइन । हामीले हाम्रो दैनिक जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरै कुरा सिकिरहेका हुन्छौं । घरमा खाना पकाउने तरिका जान्नु, खेतबारीमा काम गर्न जान्नु, आफ्ना बाबा आमासँग घर परिवारमा बसेर खुशी साट्न पाउनु पनि एउटा सिकाई नै हो भन्ने बुझ्नुपर्दछ । अहिलेको यस विषम परिस्थितिमा स्वास्थ्य भन्दा ठूलो विद्यालयको पर्खालभित्र सिकाइने शिक्षा होइन भन्ने बुझ्न आवश्यक छ । सिकाई निरन्तर चलिरहने प्रक्रिया हो । त्यसैले प्रकृतिसँग खेल्दै, रमाउदै पनि ज्ञान आर्जन गर्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ ।
विद्यालयमा आएर पाठ्यपुस्तकका कुरा सिकाउने व्यक्ति मात्र शिक्षक हुन् भन्ने मानसिकता त्यागी हाम्रा वरपरका आफन्त, मान्यजन तथा अग्रजहरुबाट समेत नयाँ कुरा सिकिन्छ भने उहाँहरु पनि हाम्रा शिक्षक नै हुनुहुन्छ भनि बुझ्न जरुरी छ । यो त भयो भाइबहिनीहरूले बुझ्नु पर्ने कुराहरु अब तपाईहरुले यस त्रासपूर्ण अवस्थालाई कसरी सिर्जनशील कार्यहरूमा बिताउन सक्नुहुन्छ त ? यसलाई म यहाँ बुँदागत रुपमा प्रस्तुत गर्ने प्रयास गर्छु है त !
यतिबेला तपाईंहरुसँग पर्याप्त समय छ ।
१. त्यसैले बिहान कम्तिमा २० मिनेट आँखा बन्द गरेर लामोलामो श्वास लिने र फाल्ने प्रणायामको अभ्यास गर्नुहोस् ।
२. बिहान उठ्ने बित्तिकै एकदेखि दुई गिलास मनतातो पानी पिउनुहोस् ।
३. कम्तिमा १ घण्टा तपाईंसँग जे उपलब्ध छ, त्यही पुस्तक आवाज निकालेर सस्वर पठन गर्नुहोस ।
४. परिवारका सम्पूर्ण सदस्यसँग शिष्ट भाषामा बोल्नुहोस् ।
५. शरीरलाई तन्दुरुस्त राख्न सन्तुलित् आहार विहारमा ध्यान दिनुहोस् ।
६. तपार्इं आफ्नो घर वरिपरी करेसाबारीमा खेती गर्ने तरिका अभिभावक र छिमेकीसँग सिक्न सक्नुहुन्छ ।
७. बासी, प्याकेटका, बजारका अस्वस्थ खानेकुरा खाँदै नखानुहोस् ।
८. दिनमा एक डेढ घण्टा गीत, कविता, कथा लेख्ने वा चित्र बनाउने जस्ता सिर्जनात्मक क्रियाकलाप गर्नुहोस् । यदि आफैँलाई सिर्जना गर्न आएन भनेपनि भएको पुस्तककै कुराहरु लेखे पनि हुन्छ ।
९. दिनमा १० देखि २० मिनेटजति नृत्य अभ्यास गर्नुहोस् ।
१०. तपाईं इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने उत्प्रेरक कथा, जीवनी आदि गुगलबाट खोजेर पढ्ने र पढेका कुराहरुलाई डायरीमा लेख्ने गर्नुहोस् ।
११. भान्सामा आमालाई वा अभिभावकलाई सघाउनुहोस् र खाना बनाउने तरिका सिक्नुहोस् ।
१२. खेर गएका समानहरुबाट विभिन्न खाले कोलाज चित्र बनाउन सिक्नुहोस् ।
१३. घर वरपर सरसफाइ गर्नुहोस् । आँगनको डिलमा विभिन्न फूलहरु रोप्नुहोस् ।
१४. सम्भव भएसम्म दैनिक नुहाउनुहोस् र सफा, चिटिक्क भएर बस्नुहोस् ।
१५. कुनै एउटा विषयलाई लिएर ऐनाको अगाडि बसेर आफ्नो तर्फबाट गज्जबको तर्क दिनुहोस् ।
१६. भविष्यमा आफू के बन्ने, लक्ष्य निर्धारण गर्नुहोस् र एक सफल भयको व्यक्तिको परिकल्पना गर्दै मस्तिष्कमा भिजुअलाईज गर्नुहोस् ।
१७. दैनिक रुपमा दिमाग बढाउने कुनै न कुनै खेल जस्तै चेस, लुँडो, बागचाल खेल खेल्नुहोस् ।
१८. मनमा हुन्न, सक्दिन, सम्भव छैन, बेकार, व्यर्थ जस्ता नकारात्मक विचार आउनै नदिनुहोस् ।
१९. कुनै न कुनै काममा व्यस्त रहनुहोस् ।
२०. पटकपटक साबुन पानीले हात धुनुहोस् र स्यानिटाइजरको प्रयोग गर्नुहोस् ।
मेरा प्यारा भाइबहिनीहरू, अझै धेरै काम गर्नुहोस् भन्न मन थियो । तर यो मिसले त विद्यालयमा हुँदा मात्र होइन, बन्दाबन्दीको अवस्थामा समेत कति धेरै काम दिनुभयो भन्ने ठान्नुहोला भनेर यति मात्र काम सुझाएँ । तपाईहरुकी मिस पनि यो बन्दाबन्दीको समयमा त्यसै समय कटाइरहेकी छैन । यो बेलामा मैले विभिन्न धार्मिक, सामाजिक, प्रेरणादायी पुस्तकहरुको अध्ययन गर्नुका साथै विद्यालयमा उपस्थित भइसकेपछि तपाईहरुलाई कसरी मनोरञ्जनात्मक तथा प्रविधिमैत्री तरिकाले सिकाउन सक्छु भनेर योजना बनाएर बसेकी छु । अबको केही समयमै तपाईंहरुको बीचमा सिकाईलाई थप उर्जाशील बनाउने तयारीका साथ आउने प्रयासमा छु । तपाईंहरु पनि घरमै सुरक्षित साथ रमाउँदै बस्नुहोला ।
उही तपाईंहरुकी मिस
नानीमैया केसी
श्री कालीदेवी मावि मन्थली १४, फुलासी रामेछाप





