सन् २०१९ को उत्तरार्धतिर चीनको वुहान सहरबाट देखा परेको कोरोना भाइरस (कोभिड १९) विभिन्न अन्य देशहरुको भ्रमण गरी हाल नेपालमा समेत आइपुगेको छ । करिब ४ महिनाको विश्व सयर पश्चात नेपालमा आइपुगको भाइरसका कारणले हालका दिनसम्म ३ हजार भन्दा बढी नेपाली नागरिकहरुलाई आफ्नो प्यारो बनाइसकेको छ ।
उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने, श्वास प्रश्वासमा समस्या देखापर्ने, मांशपेशीको दुखाई जस्ता मुख्य लक्षणहरु देखापर्ने यो रोग संक्रमित व्यक्ति र अर्को व्यक्ति बीचको सामिप्यतामा संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा यो रोग सर्ने गर्दछ । हालसम्म पनि यस रोगको उपचार पद्धति पत्ता लागिनसकेको तथा अनुसन्धानको क्रममा रहेको हुनाले यसबाट बच्न सामाजिक दूरी कायम गरी घरमा नै बस्नु पर्ने बाध्यात्मक स्थितिको सिर्जना भएको करिब ३ महिना पुग्न लागिसकेको छ ।
यस्तो अवस्थामा हाम्रा विद्यालय पनि प्रभावित भएका छन् । शैक्षिक सत्रको प्रारम्भमा नै यस्तो महामारी फैलिएकाले बालबालिकाहरु विद्यालय शिक्षा प्राप्त गर्नबाट बञ्चित भई घरमा नै बस्न बाध्य भएका छन् ।
नेपालको कानुन अनुसार १६ वर्ष उमेर पुरा नगरेकालाई बालबालिका भनिन्छ । १४ वर्ष पुगेको बालकलाई दिनमा ६ घण्टा भन्दा बढि काममा लगाउन नपाइने र काम गर्दा साँझमा ६ बजेदेखि बिहान ६ बजेसम्म लगाउन नपाइने व्यवस्था कानुनमा सुरक्षित हुँदाहुँदै पनि यो महामारीको समयमा मात्र नभई अघि पछि पनि बालश्रम शोषण भइरहेको हाम्रो समाजमा बाल अधिकारका कुरा कानुनी किताबमा मात्र सीमित हुन पुगेको देखिन्छ ।
आज कोरोना भाइरसको महामारीबाट विश्व आक्रान्त भएको अवस्थामा लामो समयदेखि विद्यालय बन्द अवस्थामा छन् । बालबालिकाहरु विद्यालय जान नपाएपछि एकातर्फ उनीहरुमा मानसिक तनाव उत्पन्न भएको छ भने अर्को तर्फ घरमा ठूला मान्छेहरुले गर्दै आएका कामहरु गर्नु पर्ने भएकाले उनीहरूको श्रम शोषण हुन पुगेको छ ।
कतिपय शिक्षित र सम्पन्न अभिभावकले उनीहरुलाई समय तालिका अनुसार अनलाइन कक्षामा आबद्ध गराउने सिर्जनात्मक काममा अग्रसर गराउने गराइएको पाइएता पनि मध्यम र निम्न वर्गीय परिवारका बालबालिकाहरु आफ्ना अभिभावकहरुले गर्दै आएका काम गर्न बाध्य भएका छन् ।
जसको कारण उनीहरुका भविष्यका योजना तथा लक्ष्यहरु गृहकार्य र कक्षा कार्यमा मात्र सीमित हुने हुन् कि भन्ने अन्योलता देखा परेको छ ।
ग्रामिण भेगका अधिकांश घर परिवारहरु निम्नवर्गीय भएका कारणले दैनिकरुपमा ज्याला मजदुरी गर्न नपाउँदा परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको छ ।
यसको प्रत्यक्ष प्रभाव बालबालिकाहरुमा पनि परेको देखिन्छ । विद्यालय बन्द भएका कारणले आफ्ना बालबच्चाहरु घरमै बस्ने हुँदा उक्त खाली समयलाइ काम गर्ने अवसरको रुपमा लिने प्रवृत्ति अभिभावकहरुमा बढ्दै जाँदा बालबालिकाहरूको बाल श्रमशोषण जोखिममा परेको छ ।
सकिनसकी डर त्रासमा काम गर्नुपर्दा बालबालिकाहरुलाई कति गाह्रो भएको होला ?
विद्यालय बन्द भएका कारणले आफ्ना बालबच्चाहरु घरमै बस्ने हुँदा उक्त खाली समयलाइ काम गर्ने अवसरको रुपमा लिने प्रवृत्ति अभिभावकहरुमा बढ्दै जाँदा बालबालिकाहरूको बाल श्रमशोषण जोखिममा परेको छ ।
हातमा कपी कलम बोकेर सुनौलो भविष्य निर्माणका लागि विद्यालय जानुपर्ने समयमा हँसिया र कोदालो बोकी काममा जानुपर्ने बाध्यात्मक परिस्थितिले पनि बालबालिकाहरूको श्रम शोषण भएको प्रत्यक्ष रुपमा देख्न सकिन्छ ।
यस्तो अवस्थामा समुदायमा रहेका विभिन्न संघसंस्था तथा विद्यालयहरुले सरोकारवालाको पहलमा सामाजिक दूरी कायम गर्दै अविभावक शिक्षा प्रदान गरी बालबालिकाहरुलाई सिर्जनात्मक कार्यमा अग्रसर गराई वैकल्पिक माध्यमहरू रेडियो, टेलिभिजन, पत्रपत्रिका, मोबाइल, इन्टरनेट आदिको प्रयोग गरी सिक्ने वातावरण सिर्जना गर्दै बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने देखिन्छ ।