पंचतन्त्र र पंच यौगिक अंग मिलेर बनेको शरीरलाई बलियो, लचकदार, निरोगी एवम् स्वस्थ बनाउन सूक्ष्म व्यायाम, मुद्रा, एवम् योगासनको आवश्यकता पर्दछ | योगादी क्रियाबाट मानव स्वास्थ्य दीर्घकालीन रुपमा स्वस्थ एवम् फूर्तिलो हुने गर्दछ | यसका लागि योगादिका कार्यका साथै प्राकृतिक भोजनमा पनि ध्यान दिनु अनिवार्य देखिन्छ | हामीहरु धेरै जसोले गर्ने योगादि क्रियामा सिधै योगासन गरेको देखिन्छ तर यो जटिल हुन् जान्छ | योगासन गर्नु पूर्व हामीले केही सूक्ष्म क्रियाहरु गर्नु पर्ने हुन्छ | सूक्ष्म क्रिया एवम् सूक्ष्म व्यायामले शरीरका मांसपेशी एवम् जोर्नीहरुलाई खुलाउने कार्य गर्दछन र योगासन गर्नका लागि सहजता प्रदान गर्दछ | जसरी हामी खान खानु अघि हात धुन्छौ त्यसरी नै योगासन गर्नु पूर्व सूक्ष्म क्रिया एवम् व्यायाम गर्नु जरुरी देखिन्छ | सूक्ष्म व्यायामले शरीरलाई खोल्नुका साथै योगासन गर्नका निम्ति शरीरलाई तताउने र शरीरमा लचकता ल्याउने गर्दछ |
त्यस्तै हातबाट उत्सर्जित हुने प्राणलाई पुनः शरीरमा फिर्ता ल्याउने कार्य हस्तमुद्राले गर्दछ | पन्चतत्वले बनेको शरीरमा पन्चतत्व तलमाथि हुन गयो भने हाम्रो शरीरमा रोगले आक्रमण गर्दछ | यी पन्चतत्वलाई नियन्त्रित अवस्थामा राख्न पनि विभिन्न मुद्राको उपयोग गर्न सकिन्छ | हाम्रो हातमा रहेका पाँच औंलामा पन्चतत्वहरु रहेका छन |
– बुढी औंला – अग्नि तत्व,
– चोरी औंला – वायु तत्व,
– माझी औंला – आकाश तत्व,
– साइली औंला – पृथ्वी तत्व ,
– कान्छी औंला – जल तत्व |
हस्त मुद्रा गर्नाले यी पन्चतत्वमा सन्तुलन आउने गर्दछ र मानिस स्वस्थ हुन्छ | आजको अवस्थामा मानिस शारीरिक एवम् मानसिक रुपमा स्वस्थ हुनु अनिवार्य देखिन्छ | यसका लागि पनि विभिन्न मुद्राहरुको उपयोग गर्न सकिन्छ |
स्वस्थ रहनका लागि गरिने मुद्राहरु :
क) ज्ञानमुद्रा –
हामीले ध्यान गर्दा ज्ञान मुद्राको प्रयोग गर्न सक्छौ | ज्ञानले प्राणीहरुमा सजिव र निर्जीवको पहिचानसम्बन्धि चेतना प्रदान गर्दछ | ज्ञानमुद्रा गर्दा ४८ मिनेट सम्म गर्दा धेरै राम्रो मानिन्छ | ध्यान गर्दा वा ध्यानात्मक आसनमा बसेको बेला ज्ञानमुद्राको प्रयोग गर्नु राम्रो मानिन्छ | खुट्टाका बिरामीहरुले कुर्सीमा बसेर पनि यसको प्रयोग गर्न सक्दछन् | यसबाट शरीर फुर्तिलो हुनुका साथै मस्तिष्कको स्नायु प्रणाली सक्तिशाली बन्ने गर्दछ | त्यस्तै यस मुद्राले स्मरण शक्तिको विकास हुनुका साथै अशान्त रहेको मनलाई शान्त पर्ने कार्य गर्दछ |
ख) वायुमुद्रा :
हामी खाना नखाएर पनि केही दिन बाँच्न सक्छौ , त्यस्तै पनि नभए पनि केही दिन बाँच्न सकिन्छ तर हावाविना १ सेकेन्ड पनि बाँच्न निकै गाह्रो पर्दछ | हाम्रो शरीर नै यस्तो प्राणमा अल्झिरहेको छ जसले हाम्रो शरीर जीवित छ भनेर चिनाइएको हुन्छ | हाम्रो शरीरमा भएका ८४ प्रकारका वायुमध्ये कुनै पनि विकृति आउने वित्तिकै हाम्रो शरीरमा रोगले आक्रमण गर्ने गर्दछ | यसबाट प्रकम्पन वायु, गाँठा, साइटिका, वायुशूल आदि रोगको निराकरण हुनुका साथै शरीरमा वायुले हुने दुखाइ पनि कम गर्न सकिन्छ | त्यस्तै गर्धनमा हुने दुखाइमा कम हुनुका साथै मनको चंचलता पनि कम हुने गर्दछ |
ग) आकाश मुद्रा :
यो मुद्रा गर्दा बुढी औंलाको अघिल्लो भाग माझी औंलाको अग्र भागसंग मिलाउनु पर्दछ | यसमा माझी औंला र हृदयको परस्पर सम्बन्ध रहन्छ | यो मुद्रा कुनै पनि आसनमा बसेर पनि गर्न सकिन्छ तर विशेष गरि बज्रासनमा यसको प्रयोगलाई राम्रो मानिन्छ | यो मुद्रा गर्दा १ पटकमा १६ मिनेट भन्दा धेरै गर्नु हुँदैन | यस मुद्राबाट कान सुन्ने क्षमता बढ्नुका साथै मन शान्त हुने गर्दछ | यो मुद्रा हिड्ने बेलामा एवम् भोजन गर्ने बेला गर्नु हुँदैन |
घ) पृथ्वी मुद्रा :
शरीर निर्माणका पन्चतत्त्वमध्ये पृथ्वी पनि एक हो | पृथ्वीमा सहने क्षमता धेरै हुन्छ | पृथ्वी मुद्राको अभ्यास गर्दा हामीमा पनि सहन गर्न सक्ने क्षमताको विकास हुन्छ | शरीरलाई स्वस्थ र सन्तुलित बनाउनका लागि पृथ्वी तत्वको विकास गर्न पनि हामीले पृथ्वी मुद्रा गर्नु अनिवार्य र उपयोगी देखिन्छ | यसले गर्दा शरीर हलुका फुर्तिलो हुनुका साथै हामीमा सहन गर्ने क्षमता विकास हुने गर्दछ |
ङ) वरुण मुद्रा :
वरुणको अर्थ जल भन्ने हुन्छ | जलले शितलता प्रदान गर्ने भएकाले वरुण मुद्राले गर्दा पनि हाम्रो शरीरमा शितलता एवम् सक्रियता प्रदान गर्दछ | यो मुद्रा रुघाखोकी लागेको समयमा गर्नु हुदैन र कम्तिमा पनि २४ मिनेट जति यो मुद्रा गर्नु पर्दछ | यसबाट शरीरलाई सुख्खापन हुनबाट जोगाउनुका साथै छालामा कोमलता ल्याउने गर्दछ | यो मुद्रा गर्दा छालाका रोगहरु नियन्त्रण गर्नुका साथै बुढ्यौलीपना पनि ढिलो आउने गर्दछ | त्यस्तै शान्त स्वभावको विकास पनि गर्न सकिन्छ |
च) अपान मुद्रा :
हाम्रो यो भौतिक शरीरमा प्राण, अपान, समान, उदान र व्यान गरी ५ प्रकारका प्राणहरु रहेका हुन्छन | यी ५ प्रकारका वायुले अलग अलग स्थानमा कार्य गर्दछन | अपानको कार्य मल मूत्र , वीर्य बाहिर निकाल्नुका साथै सुत्ने, बस्ने , हिंड्ने एवम् गतिमय स्तिथिमा पनि सहयोग गर्दछ | अपान मुद्राले अशुचि र शरीरको फोहोरलाई सफा गर्दछ | यो मुद्रा गर्दा १६-१६ मिनेट गरेर जम्मा ४८ मिनेट अभ्यास गर्दा आफूमा पूर्ण परिवर्तनको अनुभूति हुने गर्दछ | यो मुद्रले पेटको कब्जियत कम गर्नुका साथै मधुमेहका लागि पनि निकै फाइदा पुग्ने देखिन्छ |
छ) प्राण मुद्रा :
श्वासको साथमा प्राण वायु फोक्सो भित्र जान्छ | प्राण वायुलाई रगतसंग मिलाएर हृदयसम्म पुर्याउछ | कोशीकाहरुमा रहेको ग्लुकोज रगतमा रहेको प्राण वायुसंग मिल्छ र जसबाट ऊर्जा उत्पन्न हुन्छ | प्राणले नै शरीर उर्जावान हुन्छ | यो शक्तिशाली मुद्रा हो | यो मुद्रा पद्मासन वा सिद्दासनमा बसेर गर्दा राम्रो मानिन्छ | यो मुद्रापनि सुरुमा १६ मिनुत गरेर जम्मा ४८ मिनेटको पूर्ण प्रयोग हुन्छ | यसबाट सम्पूर्ण शरीरमा शक्ति सन्चार हुनुका साथै आँखाको ज्योति बढाउँछ | यसबाट आत्मबल बढ्नुका साथै एकाग्रताको विकास हुने गर्दछ |
पन्चतत्वले बनेको यो मानव चोला हामीले सुरक्षित एवम् स्वस्थ राख्नु पर्दछ | हामीले हाम्रो शरीरलाई कस्तो बनाउने भन्ने कुरा हाम्रो खानपान, शारीरिक व्यायाम आदिमा निर्भर रहन्छ | हामी स्वस्थ रहन दैनिक रुपमा हामीले योगाभ्यास आदि क्रिया गर्नु अनिवार्य देखिन्छ | योगासन, ध्यान, प्राणायाम एवम् मुद्राका नियमित अभ्यासहरु गर्नु अनिवार्य देखिन्छ | मुद्राका माध्यमबाट शरीरमा शारीरिक एवम् मानसिक स्वस्थता ल्याउन सकिन्छ | हामीले यी विभिन्न मुद्राहरु गर्दा ध्यान दिनुपर्ने पनि हुन्छ | प्रत्यक्ष रुपमा हाम्रो शरीरमा पन्चतत्वको व्यवस्थापन गर्ने कार्य यी मुद्राहरुबाट मात्र सम्भव देखिन्छ |
(लेखक त्रिभुवन विश्वविद्यालयका सहायक प्राधयापक हुन् ।)