रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले दशैँ, तिहार लगायतका चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाउँदै छ । चाडपर्वमा हुनसक्ने सम्भावित घटना, दुर्घटना तथा अपराधिक गतिविधि रोक्न र सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त बनाउन विशेष सुरक्षा योजना बनाइने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुलीले जानकारी दिए । चाडपर्वका समयमा सवारी चाप बढ्नाले दुर्घटनाको जोखिम पनि उत्तिकै हुने भएकाले भिडभाड बढी हुने, चोरी डकैती,लुटपाट, झैझगडा लगायतका आपराधिक गतिविधि हुनसक्ने भएकाले त्यसको रोकथाम र न्यूनीकरणको लागि विशेष योजना बनाएरै अघि बढ्ने उनले बताए । चाडपर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित बनाउन यो समयमा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरी साबिक भन्दा बढी सुरक्षाकर्मी सङ्ख्या बढाइने उनको भनाई छ ।